
सुर्खेत — कालिकोटको महावै गाउँपालिकामा स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्ने उद्देश्यले २,००० घरधुरीलाई सुधारिएको धुवारहित आधुनिक चुलो वितरणको तयारी गरिएको छ।
इकोहिमाल नेपालले ५०० घरधुरीलाई चुलो वितरण गर्ने कार्यक्रम अघि सारेको छ भने क्रीन नेपाल, सहास नेपाल र टिडियस जर्मनीको सहकार्यमा थप १,५०० घरधुरीलाई चुलो वितरण गरिने गाउँपालिकाले जनाएको छ।
महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहका अनुसार, इकोहिमाल नेपालले प्रारम्भिक चरणमा २५० घरधुरीमा सुधारिएको चुलो वितरण कार्य सुरु गरिसकेको छ। बाँकी घरधुरीमा क्रमिक रूपमा चुलो वितरण गरिनेछ।
अध्यक्ष सिंहले भने, “यस चुलोको प्रयोगले परम्परागत चुलोको तुलनामा कम इन्धन खपत हुने, धुवाको असर नपर्ने तथा वातावरणमैत्री प्रविधिको विकासमा सहयोग पुग्नेछ। यसले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै वनजंगलको संरक्षणमा समेत टेवा पुग्नेछ।”
धुवाले हुने स्वास्थ्य समस्या र इन्धनको जोहो गर्न लाग्ने समय घट्ने भएकाले महिलाहरू विशेष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
यसअघि गाउँपालिकामा वितरण गरिएका चुलोहरू प्रायः प्रयोगबिहीन रहेको पाइएको हुँदा यो पटकको वितरणमा विशेष ध्यान दिइएको छ।
यसपटकका चुलोहरू प्रयोगकर्ता स्वयंले चुलोको मूल्य तिर्न नपर्ने भए पनि काठमाडौंदेखि बिर्तामोड हुँदै कालिकोटसम्मको ढुवानी खर्च वापतको रकम रु २००० अग्रिम रूपमा बलिदान बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ।