
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । गएरातिदेखि लागु हुने गरी निगमले एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले विज्ञप्ति निकालेर ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ बढाएको छ ।
अब खाना पकाउने ग्यासको १४ सय २५ रुपैयाँ पुगेको छ भने पेट्रोलको १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलको १ सय १२ रुपैयाँ पुगेको छ । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढेको निगमले दाबी गरेको छ ।
कोरोना महामारीमा अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सबै क्षेत्रमा मूल्यवृद्धि हुने भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।