
काठमाडौँ । उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । गठबन्धनको समर्थनमा जसपाका नेता यादवले नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् ।
उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
नवनिर्वाचित यादवलाई प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरुले संसद भवन वानेश्वरमा बधाई तथा शुभकामना दिएका थिए ।