खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।
हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिए । तर मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरेकी छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।
‘केही घर चर्केका छन्। मानविय क्षति भएको छैन,’ उनले भने। साकेला गाउँपालिका वडा नम्बर ५ बृष्टिका विकास कटुवालको घरमा भूकम्पले क्षति पुर्याएको छ।
यस्तै डाँडाँगाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ। हलेसीतुवाचुङ नगरपालिका वडा नम्बर ९ सल्ले का ध्रुव पौडेलको घर पनि सामान्य चर्केको छ।
सोही नगरपालिका वडा नम्बर ७ सयङ्खुका गंगा राईको घर पनि चर्केको छ। घर चर्केपछि उनी भाइको घरमा बसेका छन्। अहिलेसम्म भूकम्पको क्षतिको पूर्ण विवरण आइसकेको छैन।
आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सोहि भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।
‘टक्सारका घरमा क्षति पुर्याएको छ। प्रहरीहरू पठाएको छु,’ उनले भने, ‘२०७२ कै भूकम्पबाट चर्केको एउटा घरको केही भाग भत्केको जानकारी छ।’
भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केर भागाभाग भएको थियो । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् । भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।