काठमाडौँ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन भएका छन् ।
शनिबार काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको संघको केन्द्रीय समिति बैठकबाट थापामगर सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
नेपाली काँग्रेसमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् ।
नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति चयन भएका थापामगरले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भुमिका केन्द्रित हुने बताए ।
साथै निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरि नेतृत्व हस्तान्तरण गर्ने आफु प्रतिबद्ध रहेको समेत उनले बताए ।