
काठमाडौँ । संघीय राजधानी काठमाडौँ नै हल्लिनेगरी नेपालमा एकाबिहानै भूकम्प गएको छ ।
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरे ।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्पले खोटाङ आसपासका जिल्लाहरुमा भने निक्कै हल्लाएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे कुनै विवरण भने प्राप्त हुन सकेको छैन । त्यसअघि आइतबार बिहान करिब सवा आठ बजे पनि भूकम्पको धक्का महसुस गरिएको हो ।
इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।
यसैबीच हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार र मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।