
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ ।
घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।
उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।
उता इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।
‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।
बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।
इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।