आज :

विचार मिल्नेहरूसँग एकताको प्रयास भइरहेको छ: प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र संघको निर्वाचनमा विचार मिल्नेहरूसँग एकता सम्भव बनाउने गृहकार्य भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई समेत कसिलो बनाउँदै विचार मिल्नेहरूबीच सहकार्यका निम्ति प्रयास भइरहेको बताएका हुन्।

‘गठबन्धन न्यायोचित रूपले हुनुपर्छ सबैलाई न्याय हुनुपर्छ भन्ने नै छ। तर विचार मिल्नेहरूसँग सहकार्य राम्रो हुनुपर्छ भन्ने पनि छ,’ प्रचण्डले भने, ‘विचार मिल्नेहरूसँग सहकार्य गरेर गठबन्धनलाई बलियो बनाउनेगरी बल गरिएको छ।’

उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने बताए।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ’, उनले भने, ‘गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ। एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो।’

निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरूसँग छलफल गरिने उनले बताए। ‘अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो। आउने दलाल पुँजीपतिहरू आउने भए। नोकरसाह पुँजीपति आउने भए। भ्रष्टहरू आउने भए। त्यो खतरा दिनप्रतिदित बढ्दो छ’, उनले भने, ‘यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरू भित्र पनि छलफल गर्न आवश्यक छ। ठूलो आन्दोलन गर्नुपर्ने भयो। नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरीमा लैजान्छ।’

प्रचण्डले माओवादी केन्द्र बलियो नभएसम्म उत्पीडित वर्ग र समुदायको उत्थान नहुने जिकिर गरेका छन्। उनले, आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनेगरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal