आज :

मन्त्रिमण्डल पुर्नगठनको तयारी, काँग्रेस र माओवादीबाट यी हुन् मन्त्री बन्ने नामहरू

  • अनलाइन डबली

काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।

काँग्रेस र माओवादीबीच सुरुमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि पछिल्लो समय मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् ।

काँग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउन शीर्ष नेताहरू पटक पटक छलफल भएको लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकुद्धिन खाँनले बताए ।

उनले बजेट पासपछि मन्त्री परिवर्तन गर्ने अनौपचारिक सहमति भएको भन्दै साउन दोस्रो हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको दावी गरे ।

काँग्रेस जस्तै माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ । नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले नेपाली काँग्रेसले नयाँ मन्त्रीहरू नाम दिनसाथ माओवादीमा पहिलेदेखि मन्त्री हुन रुचि राख्नेहरू तयार रहेको बताए ।

काँग्रेसभित्र पावरको लडाई
स्रोतका अनुसार लुम्बिनीमा मन्त्रिमण्डल परिवर्तनका लागि पटक पटक छलफल भएपनि प्रदेशले चाहेर मात्रै निर्णयमा पुग्न सम्भव छैन । काँग्रेसले सुरुमा आलोपालोको भद्र सहमतिअनुसार मुख्यमन्त्री परिवर्तनका लागि पार्टीभित्र छलफल गर्न काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आग्रह गरेका थिए ।

‘आधा-आधा सरकार चलाउने भद्र सहमतिमा पनि नेताहरू चुनावपछि छलफल गरौंला भने । त्यसपछि बजेट पारित भन्दै अल्मल्याई दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरू मुख्यमन्त्री फेर्ने मुडमा देखिएका छैनन्’, उनको भनाइ छ ।

लुम्बिनीका मुख्यमन्त्री परिवर्तन नहुने भएपनि काँग्रेस मन्त्री परिवर्तन गर्न केन्द्रीय नेताहरुलाई आग्रह गरिएको एक सांसदले बताए । उनले अहिलेका मन्त्रीहरूको सम्बन्ध नेतृत्वसँग राम्रो सम्बन्ध भएकाले ढिलाइ भएको भन्दै पावर लगाएर मन्त्रीहरू पद छोड्न नचाहेका बताए ।

उनले मन्त्री डिल्ली चौधरी र सुरेन्द्र बहादुर हमालको देउवासँग राम्रो सम्बन्ध रहेको दावी समेत गरे । मन्त्री परिवर्तनका लागि काँग्रेस लुम्बिनी प्रदेशका केही सांसदहरु काठमाडौँ पुगेर लबिङ समेत गरेका छन् ।

को-को आउलान् नयाँ मन्त्री ?
काँग्रेस र माओवादीका मन्त्रीहरू परिवर्तन गरे पनि सत्तामा रहेको जनता समाजवादी (जसपा) र नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्ने छैनन् । १७ सदस्यीय मन्त्रिमण्डलमध्ये स्वास्थ्य राज्यमन्त्रीबाट विमलाकुमारी खत्रीले राजीनामा दिएपछि १६ सदस्य कायम छ ।

धेरै मन्त्रीहरू भए पनि काम चित्तबुझ्दो नभएको सत्तारुढ भित्रै चर्चा छ । यद्यपी काँग्रेसका सहरी विकास तथा पर्यटन मन्त्री डिल्ली चौधरी परिवर्तन हुने सम्भावना निकै कम रहेको उनी निकटहरुको भनाइ छ ।

अन्य मन्त्रीहरू वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्धिन खाँन, राज्यमन्त्री रिना नेपाल विक र अर्जुन श्रेष्ठ परिवर्तन गर्ने तयारी रहेको बताइन्छ । यी मन्त्रीहरू हटाएर कसलाई ल्याउने भन्ने केन्द्रीय नेताहरू अझै स्पष्ट छैनन् । काँग्रेसमा मन्त्री फेर्दा प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो छ ।

यदि यो बाटोमा काँग्रेस गए फकरुद्धिन खाँन, अष्टभुजा पाठक पर्ने सम्भावना धेरै रहेको काँग्रेसका नेताहरू बताउँछन् । यस्तै माओवादीले पाल्पाका वसन्त घर्ती, बाँकेकी कृष्णा के सी, रुकुमका तेज बहादुर ओली, गुल्मीकी गीता थापाको मन्त्री बन्ने सम्भावना धेरै रहेको चर्चा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal