
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ ।
गत ३१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका छन् ।
उनका अनुसार पेट्रोलियम पदार्थ खरिदमा इन्डियन आयल निगमलाई तिर्नुपर्ने रकम अभाव भएको भन्दै सरकारले सो ऋण रकम उपलब्ध गराएको हो ।
पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ भने अनुदान स्वरूप उद्योग मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णयसमेत भएको मन्त्री कार्कीले जानकारी दिए ।
यस्तै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।
काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।
यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले निगमले पहिलोपटक काठमाडौं उपत्यकामा आफ्नै पेट्रोल पम्प सञ्चालनमा ल्याउने गरी निर्माणको ठेक्का आह्वान गरेको बताए ।
यसअघि, निगमले भैरहवा र नेपालगञ्जमा पनि आफ्नै पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । यसअघि, पेट्रोलियम व्यवसायीहरू देशव्यापी हड्तालमा उत्रिएर सेवा अवरुद्ध गरेको समयमा निगमका पम्पहरूले निर्वाध सेवा दिइरहेका थिए । सोहीकारण, पेट्रोलियम पदार्थको बिक्री गर्ने पम्पकारूपमा सरकारी र सहकारी तथा निगमका पम्पहरू चाहिने देखिन्छ । सरकारी वा सरकारी निकाय तथा सहकारीको लगानीमा सञ्चालनमा रहेका पम्पहरूले हड्तालका नाममा सेवा अवरुद्ध पार्दैनन् ।
निगमले यही असार ३१ गते पम्प निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । आह्वान भएको सूचनाअनुसार २४ सै घन्टा सेवा दिन सक्नेगरी पम्प बनाउनुपर्ने छ । काठमाडौं उपत्यकामा दैनिक ७ लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल बिक्री हुँदै आएको छ ।
यसस्थानमा नेशनल ट्रेडिङ कर्पोरेसनले २०६५ वैशाख १९ गतेदेखि पम्प सञ्चालन गर्दै आइरहेको थियो । कर्पोरेसनले साढे २ रोपनी जग्गामा सञ्चालन गरिरहेको पम्प २०७१/७२ सालमा निगमले जग्गा किनेपछि भने बन्द थियो । तत्कालिन समयमा निगमले टेकुमा ५२ रोपनी जग्गा खरिद गरेको थियो ।
नेपाल सरकारको निर्णयअनुसार खरिद गरिएको जग्गामध्ये पुनः सरकारको निर्णयसँगै १० रोपनी जग्गा नेपाल प्रहरीलाई बेचिएको थियो । निगमले आफ्नो नाममा बाँकी रहेको ४२ रोपनी जग्गामा (बागमती नदी छेउमा) अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो ।