काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् । देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमण : राजनीतिक कि रणनीतिक ?
साताअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भर्चुअल सम्वाद गरे । उनको संवाद नेपाल भ्रमणको तयारीस्वरुप थियो । उनै जियानचाओ आइतबार चार दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आइपुगेका हुन् ।
चिनियाँ उच्च अधिकारीको यो भम्रणलाई राजीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि विश्लेषक र कूटनीतिज्ञले भ्रमणलाई फरक फरक दृष्टिले हेरेका छन् ।
लिउ नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था र अमेरिकासँग भएको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सवालका बारेमा बुझ्न नेपाल आएको रहस्य विज्ञहरुले खोलेका छन् ।
कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीन चिन्तित छ । नेपालले बीआरआई परियोजना अगाडि बढाउने प्रतिवद्धता जनाएपनि व्यवहारमा अघि बढाउन सकेको छैन ।
कतिपयले नेपालमा बीआरआई परियोजना लागू हुन नदिन एमसीसी भित्र्याएको विश्लेषण गरिरहेका बेला चिनियाँ पक्षको नेपालप्रति बढेको चासोले नेपाल शक्ति राष्ट्रको खेल मैदान हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।
राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता नेपाल भ्रमणमा आउनु र सम्बन्ध विस्तार गर्न खोज्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । साथै उनी नेपालका पार्टीहरूको झगडा मिलाउने र अरु देशसँगको नेपाल सम्बन्धका सवालमा अनावश्यक चासो देखाउन नहुनेतर्फ स्वयम् नेपाल पक्ष सजग हुनुपर्ने बताउँछन् ।
यस्तै बेल्जियमका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले राजनीतिक एजेण्डा बोकेर उनी नेपाल आएको तर्क गरे । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता वा मोर्चा बनाउने एजेण्डा लिएर उनी नेपाल आएको कर्णको तर्क छ । उनले तीन पार्टी एकता गर्न चिनियाँ नेता नेपाल आएको भन्ने कुरामा कुनैपनि नेताले खण्डन नगरेकोमा आपत्ति समेत जनाए ।
नेपाल आएसँगै उच्चस्तरीय भेटवार्तामा जुटेका लिउले पहिलो राजनीतिक भेटवार्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काबाट सुरु गरेर बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर बिट मार्दैछन् ।
लिउले आइतबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रचण्ड, नेपाल र खनालपछि उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार भेटवार्ता गर्नेछन् । भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर लिउ सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।