
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेटिएको छ । निकै आक्रामक रुपमा फैलिरहेको उक्त भेटिएन्टलाई ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ नाम दिइएको छ ।
विश्वमा यस्तो नयाँ भाइरस भेटीएसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण पुनः उकालो लागेको छ । बुधबार चार महिनापछि ११३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअघि गत २६ फागुनमा ११२ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमितको संख्या निरन्तर घट्दै आएको थियो ।
हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएसँगै नेपालमा पनि चोथौ लहर आउने जनस्वास्थ्यविज्ञहरुको आंकलन छ ।
केही हप्तादेखि दैनिक रुपमा संक्रमणदर दोब्बर रुपमा बढ्नुमा ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ प्रमुख जिम्मेवार रहेको छ । पछिल्लो दिनमा नेपाल-भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् ।
‘अहिले नेपालमा पनि कोरोनाका केसहरु बढ्दै गएको देखिन्छ । नेपाल-भारत प्रवेश बिन्दुमा तुलनात्मक रुपमा संक्रमित संख्या बढिरहेका छन् । ओमिक्रोनको उपप्रजातिले संक्रमण बढाइरहेको छ,’ डा. दासले भने, ‘यो चौथो लहरको पूर्वसंकेत हो ।’
भारतमा पनि संक्रमित सख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने डा. दास बताउँछन् । जनस्वास्थ्यविदका अनुसार ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ हालसम्मकै संक्रामक रहेको छ । जसले तीव्र गतिमा संक्रमण सार्ने क्षमता राख्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ले खोप लगाएका मानिसलाई पनि पुनः संक्रमणको लहरको रुपमा देखिने बताउँछन् ।
‘बीए.फाइभले बढीभन्दा बढी मानिसलाई संक्रमण गर्छ । तर, विभिन्न देशमा देखिएको अनुसन्धानले अस्पताल भर्ना हुने संख्या कम देखिएको छ,’ डा. पुनले भने, ‘अहिले देखिएका पूर्वसंकेतहरुले पुनः संक्रमणको लहरतिर उन्मुख भएको भन्न सकिन्छ ।’
‘हामीसँग विकसित भएको कोरोनाविरुद्धको खोपले ओमिक्रोनबाट जति मात्रा सुरक्षित राख्थ्यो । तर, बीए.फाइभको संक्रमणले खोपको प्रभावकारीतालाई घटाउने देखिन्छ,’ अधिकारी भन्छन्, ‘ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक हुँदैन ।’ चोथौ लहरको रुपमा पिक अवस्थामा पुग्नका लागि एक महिना लाग्ने डा. अधिकारीको आंकलन छ ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि अहिलेसम्मकै भेरियन्टभन्दा ‘बीए.फाइभ’ बढी संक्रामक भएको बताउँछन् ।
अहिलेसम्मको अध्ययनले संक्रामक मानिएको ओमिक्रोनको (आर नट) १३ छ । त्यसैगरी, ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’को भने १८ छ । विज्ञका अनुसार ‘आर नट’ को मतलब संक्रमण सार्ने क्षमता हो ।