काठमाडौं । सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको विवाद सरकार सहभागी नेताहरुलाई फिर्ता बोलाएर नयाँ पठाएसँगै पार्टी फुटको नजिक पुगेको बताइएको छ ।
भट्टराईको असहमति हुँदाहुँदै अध्यक्ष यादवले तीन जना मन्त्री फर्ता गरेर नयाँ पठाएका छन् । अध्यक्ष यादवले कृषिमन्त्रीमा मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई र वनमन्त्रीमा प्रदीप यादवलाई पठाएका छन् । यसअघि जसपाबाट महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादव मन्त्री थिए ।
अध्यक्ष यादवको एकल निर्णयमा नयाँ मन्त्री सिफारिस गरिएको थियो । सिफारिस गरिएका तीन नेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् । उनीहरुको आजै शपथ कार्यक्रम रहेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नवनियुक्त मन्त्रीको शपथ आजै साढे चार बजे तय भएको छ ।
यसअघि सहमतिमै छुटिने निर्णयमा पुगेका यादव र भट्टराईबीच मन्त्री हेरफेरसम्म पुग्दा एक ठाउँमा बस्न नसक्ने भएको नेताहरुले बताएका छन् । बाबुराम समूहतिर लाग्ने निश्चित भएपछि यादवले तीन जनालाई बोलाएर नयाँ मन्त्री पठाएको बताइएको छ ।
नेता अशोक राईले जसलाई समर्थन गर्यो उसैको बहुमत पुग्ने अवस्था जसपामा छ । सुरुमा बाबुरामतिर लागेका राईले अन्तिममा आएर यादवतिर फर्किएका छन् । राई आएपछि यादवको बहुमत पुगेको छ । बहुमतको आधारमा मन्त्री हेरफेरको निर्णय गरेका हुन् । राईको सिफारिसमा राजेन्द्र श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।