
काठमाडौँ । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।
शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो ।
उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिए ।
यता सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।
महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।
उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन भनिएको छ।