आज :

एसपीपी विवादका बीच प्रधानसेनापति शर्मा एकाएक किन पुगे अमेरिका ? भयो यस्तो खुलासा

  • अनलाइन डबली

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । असार १३ देखि अमेरिकाको औपचारिक भ्रमणमा निस्केका शर्माले असार १५ मा वासिङ्गटन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको भ्रमण गरे ।

लेबनान र सिरियामा नेपाली शान्ति सैनिकले खेलेको भूमिका अवलोकन गरेर शर्मा अमेरिका पुगेका हुन् । उनी अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा अमेरिका भ्रमणमा गएकाे खुलासा भएकाे छ। नेपाली सेनाले प्रधानसेनापतिको भ्रमणलाई‘सद्भावना भ्रमण’ भनेको छ ।

प्रधानसेनापति शर्माले असार १५ मा संयुक्त राज्य अमेरिकाको डिफेन्स युनिभर्सिटी र वार कलेजको भ्रमण गरेका छन् । नेशनल डिफेन्स युनिभर्सिटी वासिङ्गटन डीसीमा छ । सो अवसरमा उनले अमेरिकाको ‘नेशनल वार कलेज’ का कमाण्डेन्ट ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापतिले न्यावल वार कलेज, इजेनहोर स्कुल अफ नेशनल सेक्युरिटी एण्ड रिसोर्स स्ट्रेटेजी र नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्रेटेजिक स्टडिजका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

न्यावल वार कलेज, इजेनहोर स्कुल अफ नेशनल सेक्यूरिटी एण्ड रिसोर्स स्ट्रे​टेजी र नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्रेटेजिक स्टडिजका पदाधिकारीले शैक्षिक गतिविधि र तालिमका विभिन्न पक्षबारे नेपालका प्रधानसेनापतिलाई जानकारी गराएका छन् ।

असार १४ मा प्रधानसेनापति शर्माले पेन्सलभेनियास्थित संयुक्त राज्य आर्मी वार कलेज र संयुक्त राज्य आर्मी हेरिजेट एण्ड एजुकेशन सेन्टरको भ्रमण गरे । प्रधानसेनापति शर्मा र संयुक्त राज्य आर्मी वार कलेजका कमाण्डेन्ट मेजर जनरल डेभिड सी हिलसँग भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो कलेजबाट अहिलेसम्म १६ जना नेपाली सेनाका अधिकृतहरु दीक्षित भएका छन् । नेपाली सेनाका एक जना महासेनानी हाल सो कलेजमा तालिमरत छन् ।

पेन्टागन पुग्दै
असार १७ मा प्रधानसेनापति न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (युएन)को मुख्यालय र वासिङ्गटन डीसीस्थित पेन्टागनमा पुग्दैछन् । पेन्टागनस्थित अमेरिकी रक्षा विभागमा त्यहाँका उच्च अधिकारीहरुसँग शर्माले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । पेन्टागन र न्युयोर्कस्थित युएन हेडक्वार्टर भ्रमणपछि शर्मा नेपाल फर्किने छन् ।

प्रधानसेनापतिको अमेरिका भ्रमणमा पुरानो सम्बन्धलाई निरन्तरता दिनेबाहेक नयाँ एजेन्डामा छलफल नहुने सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिल्वालले रातोपाटीलाई बताए । उनले भने, ‘प्रधानसेनापतिज्यूको सद्भावना भ्रमण हो, पुरानो सम्बन्धको निरन्तरता बाहेक अरु नयाँ एजेन्डामा छलफल र निर्णय हुँदैन ।’

असार १७ मा प्रधानसेनापति शर्माको औपचारिक भ्रमण सकिन्छ । असार १९ मा उनी नेपाल आइपुग्नेछन् । नेपाली सेनाले अमेरिकी सैनिकसँग सन् २०१५ देखि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

संयुक्त सैनिक अभ्यास र तालिमलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारेमा पेन्टागनमा प्रधानसेनापति शर्मा र अमेरिकी सैनिक अधिकारीहरुको बीचमा छलफल हुनेछ । प्रधानसेनापतिको भ्रमण टोलीमा सैनिक व्यवस्था तथा नीति विभागका उपरथी अशोक सिग्देलसहित आधा दर्जन सैन्य अधिकारीहरु छन् ।

विज्ञ भन्छन्– एसपीपीबारे छलफल स्वाभाविक
मन्त्रिपरिषद्ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई स्वीकार नगर्ने निर्णय गरेपछि शर्मा अमेरिका भ्रमणमा गएका हुन् ।​एसपीपी विवादमा परेको बारेमा प्रधानसेनापतिसँग अमेरिकी पक्षले चासो राख्ने जानकाहरु बताउँछन् ।

भ्रमण सद्भावना नै भए पनि एसपीपीबारे छलफल स्वाभाविक हुने बताउँछन् पूर्व उपरथी बिनोज बस्न्यात । बस्न्यातले रातोपाटीसँग भने, ‘एसपीपीबारे छलफल स्वाभाविक हो, त्यसमा सरकारको निर्णय सेनाले मान्नुपर्ने भए पनि दुईदेशको सैनिक सम्बन्धलाई कायम राख्नेगरी प्रधानसेनापतिले कुरा राख्नुपर्छ ।’

सैनिक सम्बन्ध मजबुत बनाउँदा दुई देशको दौत्य सम्बन्धको हितमा हुन्छ भन्नेबारे प्रधानसेनापतिले आफ्नो कुरा राख्नुपर्ने उनको भनाइ छ । बस्न्यात भन्छन्, ‘एसपीपी कार्यक्रम अस्वीकार गर्ने भए पनि दुई देशको सैनिकको सम्बन्ध नेपाल र नेपाली सेनाको हितको लागि कसरी कायम राख्ने भन्नेमा उहाँको भ्रमण केन्द्रित हुनुपर्छ ।’

असार ४ मा लेबनान उडेका प्रधानसेनापतिले त्यहाँबाट सिरिया पुगेर मिशनको बस्तुस्थिति, अपरेशन, गतिविधि र फौज तैनाथीको अवस्थाबारे जानकारी लिएका थिए । लेबनान र सिरिया भ्रमणमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राई, रक्षा सचिव किरणराज शर्मा र सहायकरथी सन्तोष बल्लभ पौडेल सहभागी थिए । रक्षा सचिव र सहायकरथी पौडेल काठमाडौं फर्किसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal