काठमाडौँ । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले शैक्षिक क्षेत्र सुधारसँगै लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको छ । विहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचत अध्यक्ष मिलन राईले दलाल शिक्षकहरू, विदेशी शैक्षिक संस्थालाई त्रिविको जग्गा सित्तैँमा वा नाउँ मात्रको शुल्कमा दिने शैक्षिक व्यापारीहरूमाथि धावा बोल्ने निर्णय गरेकाे बताए ।
यसअघिका शैक्षिक आन्दोलनहरू नेतृत्वले पैसासँग साटेको तीतो यथार्थ प्रस्तुत गर्दै अध्यक्ष राईले भने, ‘सहिद प्रज्वलका बहिनी कलशा र मनीषा शाहीलाई साक्षी राखेर उहाँहरूबाट शपथ खाएका छौँ– बरु बलिदान हुन तयार छौँ तर महान् सहिदका सपनाहरूको हत्या हुन दिनेछैनौँ । बलिदान भएर पनि दलाल पुँजीवादी राज्यसत्ता र शैक्षिक व्यापारीकरणविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नेछौँ । वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्नेछौँ ।’
अध्यक्ष राईले शैक्षिक घोषणापत्र तयार पार्ने, वैज्ञानिक समाजवादी शिक्षाका अवधारणा सार्वजनिक गर्ने कार्यक्रम पनि सार्वजनिक गरे । संसद्वादमा लुट्पुटिइरहेका विद्यार्थी सङ्गठनतर्फ सङ्केत गर्दै उनले भने, ‘संसद्वादी कलो खान छाडेर विद्रोह सङ्घर्षमा आउनुस्, एकता र क्रान्ति सम्भव छ ।’ उनले गगन थापाजस्ता वल्र्ड बैङ्कका सदस्यहरूलाई क्रान्तिकारी विद्यार्थी आन्दोलन आवश्यक नरहेको भनेर अफवाह फैलाउने कुनै नैतिक आधार नभएको बताए । उनले आक्रोशित हुँदै भने, ‘त्यस्ता पात्रलाई चारपाटा मुडी काठमाडौँ कटाएर मात्र हुँदैन, कालोमोसो, जुत्ताको माला र सिस्नुपानी लगाउँदै सडकमा घिसार्नुपर्छ ।’ विप्लवतर्फ लक्षित गर्दै उनले कुनै एक्ले वीरले नभएर जनता र क्रान्तिकारी शक्तिको बलमा क्रान्ति सम्पन्न हुने बताए ।
पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष वीरेन्द्र शाह, महासचिव रूपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दीपक बिष्टले पनि विप्लव समूहमा आबद्ध अखिल क्रान्तिकारीबाट विद्रोह गर्दै नयाँ सङ्गठन निर्माण गर्नुपर्ने कारण र अबको विद्यार्थी आन्दोलनको स्वरूपका बकारेमा चर्चा गरेका थिए । उनीहरूले आफूहरू बलिदान भएर पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासत जोगाउँदै क्रान्ति सम्पन्न गर्न तयार रहेको उद्घोष गरेका थिए ।
यही असार १२, १३ र १४ गतेसम्म काठमाडौँमा भेला सम्पन्न भएकाे छ । भेलामा देशभरबाट तीन सय प्रतिनिधिहरू सहभागी थिए । भेलाले सदस्यहरूमा सुरेन्द्र बस्नेत, सुरेन्द्र धानुक, लक्ष्मी शाह, टेकेन्द्र पाठक, नवीन खड्का, इन्दु ओली, पारस राहदी मगर, डीबी शाही, कमला परियार, अमृत श्रेष्ठ, गगन परियार, उपेन्द्र परियार, पदम विक, विनय खड्का, प्रेमप्रशान्त बोहोरा, आयुष घिमिरे, प्रदीप बमजन, हरि बिष्ट, एकराज राई, विकास राई, गोविन्द विष्ट, रमेश सुनार, महेश अधिकारी, विकल्प खत्री, विशाल जिरेल, मिम ऐडी, प्रवेश रुम्बा, दिनेश जोशी, बीपी भट्ट, कोपिला अधिकारी, राजन साउद, निराजन किराँती, कलशा शाही, सपना मगर, रूपा सेन ठकुरी, सुमन श्रेष्ठ, केशव भट्टराई, रोशन यादव, शिव सदाशङ्कर, लक्ष्मण तामाङ, केश घले, मनीषा परियार, दीपक भण्डारी, सुनिल भुल, प्रकाश भट्ट, हरिश ऐरी, मोहन धामी, दीपेन्द्र सिंह, सुनदेवी शाही, नवराज विश्वकर्मा, तिलक बिष्ट, सोमपाल कामी, पदम नेपाली, सन्देश सापकोटा, निर्मला खड्का, वीरेन्द्रकुमार मण्डल, दिलिप दास, अब्दुलसतार अन्सारी, निशान कटुवाल, बाला राई, सयन्द्र राई, आइसा भुजेल, गणेश थापा, हिम्मत परियार, स्मृति कार्की, वीरेन्द्र नेपाली, कृष्ण खड्का, सुदीप शाही, विकास रसाइली, राजन राई, प्रवीण ठाकुर, विजयप्रकाश मल्ल, महेन्द्र आचार्यलगायत रहेका छन् ।