
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले समयवद्धरूपमा काम गर्न नसकेको बताएका छन्। प्रधानमन्त्री देउवाले सधैं हतार छ भने पनि कामहरू अलपत्र छाड्ने गरेको पौडेल बताउँछन्।
पूर्वसांसद मञ्च नेपालले ६३ औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा आज गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पनि उपस्थित थिए। काम छ भन्दै प्रधानमन्त्री देउवा पहिले बोलेर निस्केका थिए।
हरेक प्रधानमन्त्रीलाई समय कम हुने भन्दै पौडेलले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै भने, ‘हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो। ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ। सबै प्रधानमन्त्रीलाई हुन्छ। तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ।’
प्रधानमन्त्री देउवाले समयवद्ध काम गर्न नसकेको पौडेलको भनाइ थियो। ‘प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्ने?,’ पौडेलले भने, ‘पुगेर भनेर प्रधानमन्त्रीजी छिटोछिटो दौडनुहुन्छ।’ उनले पार्टीमा पनि महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम अलपत्र रहेको बताएका थिए।
‘छ महिनाभित्र गर्ने भन्या काम सबै अलपत्र छन्,’ उनले भने, ‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं भनेर नारा दिएको मलाई नै पाखा पारियो। यही हो नि देश। यो मुलुकका लागि कसले उद्धार गरिदिने हो। पदमा रहँदा कसले के गरे यो पनि मूल्यांकन गर्नुपर्छ।’
सभापति देउवाले कांग्रेस विधानअनुसार विभाग र विभिन्न समिति गठन गर्न नसक्दा आलोचना भइरहेका छन्।
उनले सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मूल्यांकन गर्न नहुने पनि बताएका छन्। उनले रासायनिक मल र औषधि खरिदलगायतमा नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए।
आफू कृषिमन्त्री हुँदा रासायनिक मलका लागि कम अनुदान दिएको बताएका पौडेलले भ्रष्टाचार रोक्न सके सरकारले कम अनुदान दिए पनि पुग्ने जिकीर गरेका थिए।