
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेर तल झरेको हो ।
गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।
ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।
गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।
‘ठूलो दुर्घटनाबाट जोगियो। बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओट लाग्यो, हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’