काठमाडौँ । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।
‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। ठाकरेले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’
उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन् । ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए। यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।
महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए। त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे। उनी करिब साढे २ वर्ष महाराष्ट्रको मुख्यमन्त्री भए।
यस्तै भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ ।
वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ ।
निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम तालिका सार्वजनिक गरेको छ । अब त्यहीअनुसार काम हुने आयोगको भनाइ छ । दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।
मतदान गोप्य हुनेछ भने कुनै पनि राजनीतिक दलले ह्वीप जारी गर्न नपाउने संवैधानिक व्यवस्था रहेको छ ।