काठमाडौं । तीन दिनसम्म लगातार देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ठूलो पानी पर्ने भएकोले बाढी र पहिरो आउन सक्ने चेतवानी दिँदै विभागले सतर्क रहन आग्रह गरेको छ ।
विभागका महानिर्देशक कमलराम जोशीका अनुसार आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्नेछ । ती क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ । ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ’ जोशीले भने ।
विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरेको छ । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको जोशीले बताए । बुधबार गृह मन्त्रालयमा बसेको विपत व्यवस्थापन सम्बन्धी छलफलमा जोशीले सो कुराको जानकारी दिएका हुन् ।
एक हप्तादेखि बर्षाका कारण देशका केही स्थानमा पहिलो जानुको साथै राजमार्ग अवरुद्ध पारेको छ । विशेषगरी मंगलबार रातिदेखि परेको अविरल बर्षाको कारण देशभर बाढी र पहिरो गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण एक दर्जन जिल्लामा २० भन्दा बढी ठाउँमा राजमार्ग तथा भित्री सडक अवरुद्ध भएको छ ।
बर्षासँगै परेको चट्टानका कारण बुधवार सिन्धुलीमा एक जनाको ज्यान गएको छ । तीनपाटन गाउँपालिका–७ पोतेनी घर भएका ६० वर्षीय गोपाल तामाङको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खेतमा काम गरेर घर फर्केका तामाङलाई आँगनमा चट्याङ लागेको थियो । चट्याङ लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली घर भएकी ३८ वर्षीया सुन्तली बम्जन घाइते भएकी छन् । त्यस्तै, गुल्मीको मदाने गाउँपालिका–२ गैरा गाउँमा चट्याङ लागेर ३९ वर्षका गोपाल भुसाल र ११ वर्षका बाबुराम भुसाल घाइते भएका छन् ।
प्रहरीका अनुसार अविरल बर्षाका कारण बुधवार ४८ ठाउँमा विपद्का घटना भएका छन् । सबैभन्दा धेरै सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बर्षापछि गएको पहिरोका कारण धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटबाट त्रिवेणी जाने भित्री कच्ची सडक अवरुद्ध छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोडा र वडा नम्बर–९ मा ज्यामिरे खोलाको बाढीका कारण मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ । त्यस्तै कटारी नगरपालिका–१४ वन डाँडास्थित सिद्धिचरण राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । उता, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा बुङबाट सोताङ जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
यसैगरी दार्चुलाको महाकाली नगरपालिका–७ धाप असिगडास्थित गोकुलेश्वर हाइवे पनि बर्षाका कारण माथिबाट बगेर आएको माटो जम्मा भएर अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा खोलाले बगाएर ल्याएको ढुंगा र माटो सडकमा थुप्रिएर बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ ब्रम्हानन्द खोलास्थित चतरा–बराहक्षेत्रको भित्री सडक पनि बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको छ । त्यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थित बिपी राजमार्ग पनि पहिरो खसेर अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–९ सुके खोला र चोर खोलाको बहाव बढेर बिपी राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै सुनकोशी गाउँपालिका–१ स्थित घ्याम्पे खोलामा बहाव बढेर विपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
यता, पाल्पाको रिब्दीकोट गाउँपालिका–२ स्थित तानसेन–रिडी पक्की सडक माथिबाट ढुंगा झरेर अवरुद्ध भएको छ । तानसेन नगरपािलका–१४ रिडीस्थित तानसेन रिडी पक्की सडक पहिरोका कारण अवरुद्ध भएको हो । त्यस्तै बगनासकाली गाउँपालिका–५ सेरा र रम्भा गाउँपालिका–३ जामुनेमा पर्ने सिद्धार्थ राजमार्ग ढुंगा सहितको लेदो खसेर अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीस्थित सिद्धार्थ राजमार्ग पनि ढुंगा सहितको लेदो खसेर अवरुद्ध भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ धरादी खोला स्थित सिद्धार्थ राजमार्ग पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ जंगारेस्थित नौबिसे बलेफी भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भयो ।
त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित भीमफेदी कुलेखानी सिस्नेरी–काठमाडौं सडकमा पहिरो खसेको छ भने मनाङको नासो गाउँपालिका–१ ता म्यादिभिरस्थित चामे बेशीसहर सडकखण्डमा माथिबाट ढुंगा खसेको छ । त्यस्तै रामेछापको मन्थली नगरपालिका–२ स्थित बान्द्रे मन्थली चरिकोट सडक खण्ड पहिरोका कारण अवरुद्ध भयो ।
मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ र नवलपरासी (पूर्व)मा पनि राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नवलपरासी(पूर्व)को बिनयत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा ३ वटा डाइभर्सन बगाएको छ । तीनवटा डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुधवार बिहानदेखि अवरुद्ध सडक (केही बाहेक) अधिकांश सुचारु भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । ‘बर्षाका कारण धेरै सडकमा क्षति पुगेको छ’ उनले भने–‘तर, अहिले अधिकांश सडक खुलेका छन् ।’
प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला र पाँकुरी खोलामा आएको लेदो सहितको पहिरोका कारण प्यूठान भालुवाङ सडकखण्ड अवरुद्ध भएको थियो । धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्ग अवरुद्ध भयो । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरास्थित पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।