
काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।
आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।
‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’ मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए ।
पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सूची उनीहरुले तयार गरेका हुन् । तर यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने पार्टीले बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको उनको भनाइ छ ।
तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् ।
अखिल नेपाल महिला सघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए ।
गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।