
काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको घोषणा गरेकी छिन् ।
मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् ।
माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्। उनले माडवारी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताइन् ।
‘बजारलाई व्यवस्थित गर्न फुटपाथ, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, ‘उनले भनिन् ,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।’
केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो ।
मेयर दाहालले संघीय सरकारले नागरिकता विधेयक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गरिन् ।
भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तिलाई ठूलो उपलब्धीको रुपमा लिएको उनले बताइन् ।