
काठमाडौँ । सार्वजनिक यातायातको भाडा फेरि बढाइएको छ । सोमबार मध्यरातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।
विभागले एक सूचना जारी गरेर पछिल्लो पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरेको बताएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५।३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६।९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७।७ प्रतिशतले भाडा वृद्धि गरिएको छ
पछिल्लो पटक आइतबार डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ । आइतबार नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहँदा विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ । यसको पनि विरोध हुने देखिएको छ ।