
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापति पर्शुराम शर्माको अमेरिका भ्रमण रद्द गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एकीकृत माओवादीले अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) रद्द गरेको पत्राचार नगरी भ्रमण नगर्न भनेको हो ।
पार्टीका प्रवक्ता जन्जिर शाहीले विज्ञप्ति जारी गरेर नेपाली सेनालाई सैन्य गठबन्धनमा समावेश गर्ने गरी अमेरिकाले एसपीपी अगाडि बढाएको र यो नेपालको परराष्ट्र नीति र देशको हितविरुद्ध भएको माओवादीले जनाएको छ । सैन्य गठबन्धनमा सहभागी गराएर नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको भन्दै प्रवक्ता शाहीले एसपीपी रद्द गरेको पत्राचार गर्न माग समेत गरेका छन् ।
त्यसैगरी नागरिकको गोपनियता, राष्ट्रिय स्वाधिनता, नेपाली आर्ट मजदूरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न समेत विज्ञप्तिमा माग गरिएको छ । इम्बोस्ड नम्बर प्लेटले नेपाली लिपी समेत लोप गराउने भन्दै खारेज गर्न गर्न सकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा प्रवक्ता शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दिनप्रतिदिन नागरिकको ढाड सेक्ने गरी मूल्य आकासिएर नागरिकको चुलो बल्न छोड्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता गरी मूल्य घटाउन माग गरेका छन् । उनले बजारमा भइरहेको अन्य बस्तुको मूल्य र कालोबजारी नियन्त्रण गर्न पनि माग गरेका छन् ।
विज्ञप्तिमा पार्टीले अगाडि सारेका मागहरुको सुनुवाई नभए संघर्षका कार्यक्रम जारी गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यस्तो छ विज्ञप्तिः
हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजिवीकाका सवालमा संघर्ष गर्दै आइरहेको छ । यसै सन्दर्भमा अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) मा सहभागी हुने पत्राचार, राष्ट्रियता र नागरिकको गोपनिायतासँग जोडिएको इम्बोस्ड नम्बर प्लेट र पेट्रोलियम पदार्थलगायतमा बढ्दै गइरहेको मूल्यवृद्धिको बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रियता र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका यी विषयमा पार्टीको धारणा सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१. अमेरिकाले स्टेट पार्टनशीप प्रोगाम (एसपीपी) मार्फत नेपाली सेनालाई सैन्य गठबन्धनमा सहभागी गराउने प्रस्ताव गरेको र नेपाली सेनाले पत्राचार गरेको सार्वजनिक भएको छ । यो नेपालको परराष्ट्र नीति र राष्ट्रिय स्वाधिनताको विरुद्धमा छ । यसको हाम्रो पार्टी खारेज गर्दछ र एसपीपीसँग सहभागीता अन्त्यको लागि पत्राचार गर्न सरकारसँग माग गर्दछौं ।
२. नेपाली नागरिकको गोपनियता, राष्ट्रिय स्वाधिनता, नेपाली आर्ट मजदूरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु गर्नु हुँदैन भन्ने पार्टीका धारणा छ । कमसल प्रविधि र महंगो मूल्य तोकेर लुट मच्चाउन खोजिएको छ । यसले नेपाली लिपीको समेत लोप गराउने भएकोले इम्बोस्ड नम्बर प्लेट लागु नगरियोस् ।
३. पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दिनप्रतिदिन नागरिकको ढाड सेक्ने गरी मूल्य आकासिएको छ । जसको कारण नागरिकको चुलो बल्न छोड्ने अवस्था छ । पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता गरेर मूल्य घटाइयोस् र बजारमा भइरहेको अन्य बस्तुको मूल्य र कालोबजारी नियन्त्रण गरियोस् ।
४. प्रधानमन्त्री शेरबहादु देउवा र प्रधानसेनापति पर्शुराम शर्माको अमेरिका भ्रमण तय भएको सार्वजनिक भएको छ । एसपीपी सम्झौता खारेज नगरी अमेरिका भ्रमण रद्द गरियोस् ।
माथि उल्लेखित माग पूरा नगरिए पार्टी संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न सम्बन्धी पक्षले हुनेपर्ने छ ।