आज :

ताप्लेजुङमा भीषण पहिरो, यस्तो छ मानवीय क्षतिको विवरण

  • अनलाइन डबली

ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्।

घाइते मृतक तुलसाका श्रीमान् बिष्णु अधिकारी हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको डिएसपी राईले जानकारी दिए।

घाइते अधिकारीले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताए। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको छ।

खेवाङसहित ताप्लेजुङका तीन ठाउँमा गए राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ। जिल्लाको मामांखे र फक्तालुङमा पनि पहिरो गएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

‘जिल्लाका तीन वटै ठाउँमा गएको पहिरोको विवरण संकलन, राहत तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी तथा स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको छ’, उनले भने।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गए राति ठुल्ठूला पहिरो झरेका छन्। यसैबीच प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जानकारी दिएको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत विभागले भनेको छ।

हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।

मनसुन सुरू भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ। खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ।

पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यस्तै मुलघाटस्थित तमोर नदीले पनि सतर्कता तह पार गरेको छ।

बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । क्षेत्रमा यसअघि नै एसएमएस अलर्ट पठाइसकिएको विभागले जनाएको छ। उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन विभागले आग्रह गरेको छ।

प्रदेश–१ र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal