
काठमाडौँ । दाङको तुलसीपुर– ५ बसपार्कस्थित वाइसिएल नेता एकराज बस्नेतकी श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् ।
उनले आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको वेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपञ्च गरेको बताएकी छिन् ।
उनले वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार रहेकाे खुलासा गरेकी छिन् । त्यो कारोबार मिलाउन एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो ।
फोनमा कुरा भए पनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन् । ‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोबारका लागि म घर गएकी थिएँ,’ उनले भनिन्, ‘फोनमा त कुरा भइरहेको थियो, तर एक हप्तादेखि भेट हुन सकेको थिएन ।’
विमलाका अनुसार एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन् त्यसपछि एकराजलाई भेट्टाउन नसकेको मन्त्री विमलाको भनाइ छ ।
‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि ‘खोइ ! एकराज भनेर सोधेकी हुँ,’ विमलाले भनिन्, ‘भर्खरै फोन भएको, अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ ।’ त्यसपछि एकराजको श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्।
जेठाजु वीरेन्द्र बस्नेतसहित घरपरिवार र छिमेकी आए । उनीहरू आएपछि भित्रबाट घरको गेटमा चुकुल लगाए । चुकुल लगाएपछि वीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।
‘वीरेन्द्र आएपछि भित्रबाट चुकुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एकपटक वीरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिवेला, पिएसओ र मीनाका ससुरा बुबाले छेकेपछि पिट्नबाट रोकिए,’ राज्यमन्त्री वलीले भनिन्, ‘त्यतिवेला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’
एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भए पनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ ।
आफ्नो एकराजसँग मात्रै काम भएकाले त्यहीअनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताइन् । एकराजकी श्रीमती मीनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोहीअनुसार उनीहरूले मुद्दा दर्ता गरेकी छिन ।
अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरीकै निगरानीमा छिन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन् । नयाँ पत्रिका