आज :

अर्थमन्त्री शर्माले राजिनामा दिन लागेको समाचार बाहिरिएपछि प्रचण्डले मुख खोले, के हो यथार्थ ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् ।

साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे । केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका र शर्माले राजिनामा दिन लागेको’ समाचारहरू सार्वजनिक भएका थिए ।

तर, अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको राजीनामासँग जोडेर आएका कुनै पनि समाचार बदनाम गराउन फैलाएको अफवाह र षडयन्त्रबाहेक अरू केही नभएको भन्दै शर्मासँगको आइतबारको भेटमा पार्टी संगठनका बारेमा कुराकानी भएको प्रस्ट पारे ।

‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन’, बर्दियामा रहेका अध्यक्ष प्रचण्डले भने,‘ अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र सरकारमा गएका मन्त्रीहरू बदनाम गर्न षड्यन्त्रपूर्वक ढङ्गले यस्ता हल्लाहरू चलाइएको हुनसक्ने बताए ।

‘आइतबार म र अर्थमन्त्रीबीच पार्टी संगठन कसरी मजबुत बनाउने भन्ने विषयमा कुराकानी भएको हो । अर्थमन्त्रीले अहिले पार्टीको नीति अनुसार नै काम गरिरहनुभएको छ । पार्टीको नीति निर्देशनमै काम गरिरहेको मन्त्रीलाई हटाउनुपर्ने कुनै कारण पनि छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको भनाइ छ । उनले षडयन्त्रकारीहरूले फैलाएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि अर्थमन्त्री हटाउनेबारे पार्टीभित्र कुनै छलफल नभएको बताए । ‘अर्थमन्त्री वा अरू कुनै मन्त्रीहरू फिर्ता बोलाउने भन्ने पार्टीमा छलफल नै भएको छैन, छलफल नै नभई कसरी यस्तो कुरा आयो रु’, नेता पुनले भने । माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतले पनि अर्थमन्त्री फिर्ता बोलाउने भनेर आएको समाचारप्रति आश्चर्य व्यक्त गरे । उनले भने, ‘पार्टीमा यसबारे केही कुरा भएको छैन, एक्कासि कहाँबाट हल्ला आयो, मलाई पनि थाहा भएन’, बस्नेतको भनाइ छ ।

अर्का नेता गिरिराजमणि पोखरेलले पनि आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘म ५ दिनदेखि रेष्टमा छु, तर पार्टीमा यसबारे छलफल भएजस्तो मलाई लागेको छैन’, पोखरेलको भनाइ छ ।

यस्तै अर्थमन्त्रालयले पनि समाचार खण्डन गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा आज अर्थमन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्बन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र गरिएको छ । निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरूको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरू प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट मूलतः आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै सुदृढ अर्थतन्त्र निर्माणतर्फ निर्देशित रहेको र सो बमोजिम करका दरहरूमा केही संशोधन सहित प्रस्तावित आर्थिक विधेयक लगायतका बजेट सम्बद्ध अन्य विधेयकहरू हाल संघीय संसद्को दुवै सदनमा छलफलका क्रममा रहेको छ । परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ । मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ ।’

सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने मन्त्रालयले बताएको छ ।

बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक विकासको गतिलाई तीव्रता दिनुपर्ने समयमा भ्रामक तवरले समाचार प्रकाशन भएको मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal