
तनहुँ । तनहुँको आँबुखैरेनीमा इलेक्ट्रोनिक पसल चलाउँदै आएका केशव घिमिरे शुक्रबार बिहान झिसमिसेमै नारायणघाट मुग्लिन सडकखण्डमा जाममा परेकी श्रीमती विष्णुमाया लामिछानेलाई लिन भनेर घरबाट निस्किएका थिए ।
छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर ।
मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा लामिछानेले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखिन् । उनले आफू चढेको माइक्रोका चालक र यात्रुलाई त्यो कुरा सुनाइन् पनि । तर कसैले चासो दिएनन् । माइक्रो सरासर आँबुखैरेनीतिर अघि बढ्यो । उनी घर पुगिन् ।
घरमा श्रीमान् हुने कुरै भएन, उनी श्रीमती लिन मुग्लिनतिर लागेका थिए । तर मुग्लिन पुगेका थिएनन् । उनका श्रीमान केशव साँखरमा दुर्घटनामा परेका थिए । जसलाई लामिछानेले देखेकी थिइन् र सहयात्रीहरुलाई सुनाएकी पनि ।
तर दुर्भाग्य, जहाँ केशव दुर्घटनामा परेर लडिरहेका थिए । त्यो ठाउँ नै बिहान ४ बजेर ५० मिनेटको आसपासमा पहिरोसहित नदीमा खस्यो, केशवपहिरोसँगै । घर पुगेकी लामिछानेले पछि मात्र साँखरमा पहिरोले सडक भत्कायो भन्ने थाहा पाइन् ।
‘दिदी र भाञ्जालाई लिन बिहानै जाँदा भीरमा खस्नुभएको रहेछ,’ निशान लामिछानेले भने, ‘दिदीले उताबाट आउँदा त्यहाँ मान्छे खसेको छ पनि भन्नुभएको रे । तर दुर्भाग्य आफ्नै श्रीमान रहेको थाहा नै भएन ।’
पहिरोस्थलबाट केशवसँगै मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन ।
भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ । भुजेलका भाइ विनोदका अनुसार उनी हेटौंडाबाट गोरखाका लागि यात्रु लिएर हिँडेका थिए ।
गोरखामा यात्रु छाडेर फर्कने क्रममा उनी पहिरोमा परेको प्रहरीले जनाएको छ । कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार भेटिएको छैन ।
पहिरोमा परेर बा ३३ प १०८१ नम्बरको मोटरसाइकल वेपत्ता भएको छ । तर मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।