आज :

पोष्टमार्टम रिपोर्टले बदलियो दुर्घटनाको घटना, खोल्यो बेग्लै रहस्य

  • अनलाइन डबली

काठमाडौँ। चैत २० गते साँझ ५:२० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पको ठीक अगाडि एक मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते भएकी चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी दर्नाल गम्भीर घाइते बनिन् । उनलाई नजिकैको नेशनल अस्पताल पुराइएपनि उपचारकै क्रममा साँझ मृत्यु भयो ।

चैत महिनामा चाँडै नै दिन सकिने भएकाले दुर्घटनाको बेला उक्त दिन पनि हल्का अँध्यारो भइसकेको थियो । सबैले उक्त मोटरसाइकल डिभाइडरमा ठोक्किएको कारण दुर्घटना भएको अनुमान गरे । दुर्घटनामा परेको स्पेल्डर मोटरसाइकलको अवस्था हेर्दा पनि अगाडिको भाग फुटेको देखेपछि डिभाइडरमै ठोक्किएर दुर्घटना भएको ठानियो । दुर्घटनाको सम्बन्धमा परिवारले पनि सामान्य दुर्घटना नै ठानी प्रतिवादीको महल खाली नै राखेर सवारी ज्यान शीर्षकमा जाहेरी दिए । त्यसपछि शवको सदगद भयो ।

पोष्टमार्टम रिपोर्टको त्यो क्लु
पोष्टमार्टमका लागि पठाइएको शवको रिपोर्ट करिब ५ दिनपछि मात्रै आयो । पोष्टमार्टम रिपोर्टमा टाउकोमा मात्रै नभएर छाती र पेटमा समेत चोट पुगेको देखायो । डिभाइडरमा ठोक्किएर दुर्घटना भएको मानिएको उक्त दुर्घटनामा मृतकको शरीरमा चार स्थानमा चोट पाइयो । सामान्य अवस्थामा टाउकोमा चोट लागेका कारण मृत्यु हुन्छ ।

ती महिलाको टाउकोमा चोट त थियो नै, त्यसबाहेक छाती र पेटको भागमा पनि चोट पाएपछि डिभाइडरमा मात्रै ठोक्किएर दुर्घटना भएको होइन भन्ने निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि प्रहरीले उक्त दुर्घटनाको थप अनुसन्धान सुरु गर्‍यो ।

प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिल कुमार घिमिरेले उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्न दुर्घटनास्थल, दुर्घटनास्थल वरपरको सिसिटीभी क्यामेरा आदि सङ्कलन सुरु गरे ।

सीतापाइलातर्फबाट कलंकी, बल्खुतर्फ जाने सवारीसाधनको सूक्ष्म अनुसन्धान गर्दा दुर्घटनामा परेको प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकलसँगै एउटा निलो हात्ती गाडी पनि सँगसँगै गुडेको देखियो । सीतापाइलादेखिको सिसी क्यामेरा पछ्याउँदा दुर्घटनामा परेको मोटरसाइकलसँगै एक हात्ती गाडी पनि सँगै आइरहेको पाएपछि कालीमाटी प्रहरीले उक्त गाडीको खोजी गर्‍यो । दुर्घटनास्थलबाट बल्खुतर्फ जाँदा बाटोमा रहेको सिसीटिभीमा उक्त गाडी त्यहाँ पुग्न लाग्ने समयसमेत प्रहरीले क्याल्कुलेसन गर्दा ‘टाइमिङ’ मिलेन ।

त्यसपछि प्रहरीले उक्त हात्तीगाडीको नम्बर खोज्नतिर लाग्यो । साँझको समयमा डिमलाइट बाल्न थालिसकेको कारण सिसीटिभी क्यामेरामा पनि उक्त गाडीको नम्बर पत्ता लगाउन समस्या भयो । करिब एक साताको प्रयासपछि पत्ता लाग्यो कि दुर्घटना हुँदाको समयमा सँगसँगै रहेको हात्तीगाडीको नम्बर बा १२ च ५६२ थियो ।

त्यसपछि यातायात व्यवस्था कार्यालयबाट उक्त हात्ती गाडीको विवरण मागियो । उक्त हात्तीगाडीका सवारीधनी र चालक रामेछापको दोरम्बा गाउँपालिका ५ घर भई टेकुमा डेरा गरी बस्ने ३३ वर्षीय कमल प्रसाद गौतम रहेको पत्ता लाग्यो । त्यसलगत्तै कमललाई फोन गरी केही बुझ्नुपर्ने भएकाले प्रहरी वृत्त टेकुमा बोलाइयो ।

तर कमलले सुरुमा हुन्छ भनेपनि त्यसपछि मोबाइलको स्वीच अफ गरेर उनी फरार भए । जतिबेला कमललाई फोन गरिएको थियो, उनी त्यतिबेला मकवानपुरको हेटौँडामा थिए । मोबाइलको स्वीच अफ गरेपछि उनीमाथिको शंका झनै बढ्न थाल्यो र प्रहरीले उनको खोजीलाई तीब्र बनायो

यता भवितव्य दुर्घटना भनी सामान्य जाहेरी दिएर बसेका परिवारलाई डिएसपी घिमिरे आफैले फोन गरेर कालीमाटी बोलाए । सुरुमा दुर्घटनाको दिनको सिसीटिभी फुटेज देखाए र दुर्घटनामा उक्त हात्तीगाडीको संलग्नता हुनसक्ने बताए । तर जुन स्थानमा दुर्घटना भएको थियो, उक्त स्थानमा सिसीटिभी कभरेज नभएको कारण परिवारले उक्त सवारीसाधन र त्यसका चालकविरुद्ध किटानी जाहेरी दिन मानेनन् ।

तर प्रहरीले अनुसन्धानलाई त्यसै छाडेन । यही क्रममा प्रहरी वृत्त कालीमाटीको टोलीले घटनाको ठीक दुई महिनापछि सवारी दुर्घटनामा संलग्नताको आशंका गरिएका कमल प्रसाद गौतमलाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरी काठमाडौँ ल्यायो । सुरुमा घटनाबारे अनभिज्ञ रहेको बताएका गौतमले अहिले भने दुर्घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनामा संलग्नता रहेका सवारी चालक पक्राउ परेको पुष्टि गरे । पक्राउ परेका अभियुक्तलाई सोमबार म्याद थप गर्ने र त्यसपछि घटनाबारे थप जानकारी दिने उनले बताए । प्रवक्ता मैनालीले भने, ‘यो घटनामा प्रहरीले गरेको अनुसन्धानले राम्रो नतिजा दिएको छ । सामान्य दुर्घटना भनी चुप लागेर बसेको भए आज पीडित परिवारले न्याय र क्षतिपूर्ति पाउने सम्भावना पनि नरहन सक्थ्यो । तर प्रहरी त्यसै चुप लागेर बसेन र यसको सफल अनुसन्धान गरी दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिन सफल भएको छ ।’

प्रहरीप्रति आभारी छु : मृतकका दाइ नवराज दर्नाल
घटनाको दुई महिनापछि दुर्घटनामा संलग्न चालक र सवारीसाधन नियन्त्रणमा आएपछि मृतक लक्ष्मी दर्नालका दाइले प्रहरीलाई धन्यवाद दिएका छन् । सुरुमा सामान्य दुर्घटना भनेर त्यसै छाडिएको घटनालाई प्रहरीले सूक्ष्म अनुसन्धान गरी नतिजा निकाल्ने गरी काम गरेकामा उनले धन्यवाद भनेका छन् ।

नवराज दर्नालले भने, ‘सुरुमा हामीलाई डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको भन्ने कुरा नै गरियो । देख्ने मान्छेले पनि डिभाइडरमा ठोक्किएको कुरा नै गरे । कसैले ठक्कर दिएको नदेखेपछि हामीले पनि त्यही नै हो भन्ने लागेर सामान्य जाहेरी मात्रै दियौँ । तर शरीरमा धेरै ठाउँमा चोट लागेको कारण ठक्कर नै दिएको हो कि भन्नेचाहिँ लागेको थियो । तर अन्य केही प्रमाण नभएपछि हामी पनि त्यसै बसेका थियौँ । पछि डिएसपी सर आफैले बोलाएर सिसीटिभी फुटेज देखाउनु भएपछि शंका लाग्यो । अहिले त प्रहरीले पक्राउ गरेर ल्याइसक्नुभएको छ । पक्राउ परेकाले पनि डिभाइडरमा ठोक्किएपछि लड्दा आफूले चलाएको गाडीको पछाडिको टायरले किचेको भनेका छन् । अब बाँकी प्रक्रिया सुरु हुन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal