
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण सुरु भएको छ । बुधबारबाट कुमारी हलमा सुरु भएको प्रशिक्षणमा आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रशिक्षण दिने भएका छन् । त्यस्तै आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने भएका छन् ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयका अनुसार आज अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले ‘स्थानीय तहको बजेट निर्माण’ विषयमा प्रशिक्षण दिँदै छन् भने पार्टीको विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साहले ‘स्थानीय तहमा विज्ञान प्रविधिको प्रयोग’, सुलभ बुढाथोकीले ‘स्थानीय तहको विद्यालय शिक्षण सिकाइ’ विषयमा , डा. शैलेन्द्र गिरी ‘स्थानीय तहमा सूचना प्रविधि’ विषयमा र पार्टीका नेता तथा पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’सम्बन्धमा प्रशिक्षण तालिका रहेको छ ।
त्यस्तै आज अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक/एक स्थानीय तहका प्रमुखले अनुभव पनि सुनाउने कार्यक्रम राखिएको छ ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन् ।
नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । अध्यक्ष प्रचण्डले अन्तिम सम्बोधन गरेर प्रशिक्षण कार्यक्रम आजै सकिने माओवादीले जनाएको छ ।