
काठमाडौँ । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितले आफूले दोब्बर मतले विजयी हुन दाबी गरेका छन् । उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभा पुगेका स्थापितले गेम ओभर भइसकेको समेत बताए ।
त्यसैगरी एमालेको काठमाडौँ महानरको उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् । स्थापित र डंगोल रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरमा उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश सांसद समेत रहेका स्थापितले २०५४ मा मेयरमा निर्वाचित भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए ।
त्यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । स्वातन्त्र उम्मेदवारी दर्ता गराएकी डंगोललाई एमालेले उपमेयर बनाउने निर्णय गरेको थियो । डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउने भन्दै मेयरमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।
उम्मेदवारी दर्तापछि स्थापितले आफू प्रमाणित मान्छे भएको बताउँदै चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ । काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले आफूले जित्ने दाबी गरे ।
ठाउँठाउँमा बागी उम्मेदवारी, गठबन्धन नगर्ने जिल्ला र पालिकाका निर्णयपछि सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बसेको छ । बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ(आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ ।
बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने दाबी समेत गरे ।
गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।