
काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको पानी मुहानबाट सुरुङमा हालिएको थियो । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाले जनाएको छ । राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।
गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको छ । अबको एक हप्तासम्म बागमती किनारबासीहरुलाई सतर्क रहन आयोजनाले आग्रह गरेको छ ।
पहिरोले अबरोध गरेको पुर्याएको करिब एक वर्षपछि मेलम्चीको पानी राजधानी आइपुगेको छ । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।
सुन्दरीजल आइपुगेको पानी प्रशोधन केन्द्रमा हालेपछि वितरणको काम सुरु हुनेछ ।