
काठमाडौँ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । राप्रपाले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्न सहमत भएको छ ।
राप्रपाबाट अलग भएर राप्रपा नेपालको जिम्मेवारी समालेका कमल थापा स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर चुनाव लड्न तयार भएपछि दुबै पार्टीबीच पाँच बुँदे सहमति भएको छ ।
एमाले केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमतिमा हस्ताक्षर भएको हो । सहमतिमा आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।
“राष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने” सहमति पत्रमा भनिएको छ । बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए ।
सहमति पत्रमा एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहालले र राप्रपाको तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।