
काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।
जसपाका केन्द्रीय सदस्य समेत रहेका चौधरीसहितका नेताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा स्वागत गरेका छन् । समाहित हुने अन्य नेताहरुमा जसपाका केन्द्रीय सदस्य पशुपति चौधरी, माया नेगी, केन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरी, युवा परिषद केन्द्रीय सदस्य करण साउद लगायतका रहेका छन् ।
त्यसैगरी सोही कार्यक्रममा सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यो प्रवेशको महत्व देशव्यपी हुने र यसले अन्य पार्टीमा छरिएर रहेका इमान्दार कार्यकर्ताहरु र माओवादी छाडेर बाटो विराएकाहरुलाई पनि एक ठाउँमा आउने सन्देश दिने बताए ।
कैलालीका कृष्ण चौधरीले माओवादी छाड्दा दुःख लागेको र अहिले फर्केर आफ्नै घर आउँदा खुशी लागेको बताउँदै प्रचण्डले उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने बताए । विप्लवतिर गएका केही केन्द्रीय नेताहरु पनि आजै आउने जानकारी दिँदै प्रचण्डले कैलालीमा २०६४ को नतिजा नजिक पुग्ने विश्वास समेत व्यक्त गरे ।
कृष्ण चौधरी ०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका र ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट २१ हजार बढि मतका साथ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । चौधरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपाको केन्द्रीय सदस्य बनेका थिए ।