
काठमाडौं । पाकिस्तानमा पूर्व खेलाडी इमरान खानको सरकार ढलेको छ । प्रधानमन्त्री हुँदा खानको जति चर्चा भएको थियो, सरकार ढल्दा पनि त्यति नै चर्चा भएको छ । आफूहरु विरुद्ध अविश्वास प्रस्ताव आएपछि खानले त्यसलाई छल्न संसद विघटन गरेका थिए । तर, अदालतले उनको कदम असंवैधानिक भन्दै उल्टाइदिएको थियो ।
अदालतले संसद भंग गर्ने निर्णय उल्टाएसँगै अविश्वास प्रस्तावमा मतदान भएको थियो । गएराति संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरे । योसँगै खान प्रधानमन्त्रीबाट हट्नु परेको छ । खानकै पार्टीका केही सांसदहरुले असहयोग गरेपछि अविश्वासको पक्षमा बहुमत पुगेको बताइएको छ ।
खानले महँगी र सुशासन नियन्त्रण गर्न नसकेको भन्दै विपक्ष दलहरुले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो । खानकै पार्टीका केही नेताहरुले विपक्षलाई अविश्वास प्रस्ताव ल्याउन र पास गराउन सहयोग गरेका थिए ।
खान प्रधानमन्त्रीबाट हटेसँगै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीलाई प्रधानमन्त्री बनाउने विपक्षी दलहरुले छलफल थालेको भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । भुट्टोले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गर्दै पुरानो पाकिस्तानमा पुगेको बताए ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । खानले पनि पूरा कार्यकाल काम गर्न पाएनन् । उनी प्रधानमन्त्री हुँदा पाकिस्तानीले गरेको अपेक्षा पूरा नभएको भन्दै केही दिनदेखि विरोध भइरहेको थियो ।
खानले आफू विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सेनाले विपक्षी दलहरुलाई सहयोग गरेको आरोप लगाएका थिए । उनले भारतीय सेनाले राजनीतिसँग सरोकार नराख्ने तर पाकिस्तानी सेनाले राजनीतिक नेतृत्वलाई असहयोग गर्दै आएको समेत बताएका थिए ।