
काठमाडौं । आज सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेर रामनवमीको अबसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले मन्त्रिपरिषद् बैठकले आइतबार (आज) देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने गरेको बताएका छन् ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज मनाइँदैछ । यही अबसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको विश्वास गरिन्छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको मान्यता छ ।
आज पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ ।
रामायणलगायतका धर्मग्रन्थमा रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइन्छ ।
रामनवमीको अबसरमा आज काठमाडौंका बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गर्दछ ।
कोरोना भाइरस संक्रमणका कारण दुई वर्षसम्म मन्दिर पुगेर ढुक्कसँग पूजाआजा गर्न नपाएका भक्तजनहरुले यस पटक भने विहानैबाट मन्दिरहरुमा लाइन लागेका छन् ।