
काठमाण्डौं । यूनिग्लोव कलेजको आयोजनामा ‘नवौँ युनिग्लोव अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन–२०२२’ चैत २३ र २४ गते नयाँ बानेश्वरस्थित कलेज प्राङगणमा हुने सम्मेलनको मुख्य केन्द्र विन्दु भने खस्किँदै गएको नेपाली अर्थतन्त्रलाई माथि उकास्ने बारे हुने कलेजका प्रिन्सीपल डा. नरबहादुर विष्टले बताए ।
युनिग्लोव कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका डा.विष्टले पछिल्लो समयमा रुस-यूक्रेन युद्धको कारण विश्वको अर्थतन्त्र झनै खस्किँदै गएको र हाम्रो जस्तो देशले कसरी अघि बढ्ने भन्ने विषयमा कुटनीतिक सुझाव तथा निकासका आधार बन्ने विश्वास लिएको बताए ।
वास्तवमा यस्ता महत्वपूर्ण सम्मेलन सरकारको पहलबाट हुँदा अझै राम्रो र प्रभावकारी हुने भएपनि राज्यप्रति जिम्मेवार र समयअनुसार देशलाई योगदान पुगोस् भन्ने हेतुले सो सम्मेलन वर्षौंदेखि गर्दै आएको डा.विष्टले अगाडी भने । सम्मेलनमा अमेरिका, युरोप, बंगलादेश, क्यानडा, फ्रान्स, भारत, जापान, मलेसिया, साउथ अफ्रिका, श्रीलंका र थाइल्याण्डबाट सम्बन्धित विषयका विज्ञ वक्ताहरु आउने आयोजकले जनाएको छ ।
नेपाललगायत विश्व अर्थतन्त्रका चुनौती, सम्भावना, दिगो विकास र कुटनितिक सम्वन्धले पार्ने प्रभाव र पछिल्लो अवस्थाबारे उच्चस्तरीय संवाद गर्ने उद्देश्य रहेको सम्मेलनले सरकारलाई पनि अर्थतन्त्रमा देखिएको समस्या मोचन गर्ने नयाँ आधार बन्न सक्ने विश्वास आयोजकले लिएको छ ।
सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा समस्या र चुनौतीहरू, मार्केटिङ व्यवस्थापन मुद्दा र चुनौतीहरू, व्यवस्थापकीय मुद्दा र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापन मुद्दा र चुनौतीहरू, मानव संसाधन व्यवस्थापनमा समसामयिक मुद्दाहरू र चुनौतीहरू, मार्केटिङ व्यवस्थापनमा समस्याहरू, व्यवस्थापनमा समसामयिक समस्या र चुनौतीहरू, कर्पोरेट गभर्नेन्स र वित्तीय व्यवस्थापनमा समसामयिक मुद्दाहरू र बदलिँदो विश्व व्यवस्थाको परिप्रेक्ष्यमा विदेशी मुलुकसँग नेपालको सम्बन्धलगायतका बिषयहरु समेटेर ८ वटा सेसनहरु सञ्चालन हुने छन् ।
सम्मेलनमा पूर्व राजदुत डा. विश्वम्भर प्याकुरेल, कुटनितिज्ञ डा. खड्ग के.सी., अर्थविद् डा. गोविन्द नेपाल, बरिष्ठ उद्यमी भवानी राणा, कुटनीतिक मामीलाका जानकार डा. मनिष थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललगायतका बिशिष्ट अतिथि वक्क्ताहरु सम्मेलनमा सहभागी हुने आयोजकले अनलाईन डबलीलाई जानकारी दिएको छ ।
व्यवसायमा दिगो र नवप्रवर्तन ‘इनोभेशन एण्ड सस्टेनेबिलिटी इन बिजनेश’ भन्ने मुल नाराका साथ बिगत ८ बर्षदेखि युनिग्लोव कलेजले निरन्तर यो सम्मेलन गर्दै आएको छ ।