काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले आज (चैत १६ गते ) बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो।
उक्त शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ । निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा चैत २१ गते हुनेछ भने ढिलोमा चैत ३० गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको वित्तिय अवस्था
कम्पनीको आईपीओ निष्काशनको उद्धेश्यलाई हेर्दा यसको वित्तिय अवस्था त्यति राम्रो नभएको अनुमान लगाउन सकिन्छ । कम्पनीले आईपीओ निष्काशन गर्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित भएको कर्जा चुक्ता गर्ने बताएको छ। साथै कम्पनीले निर्माणाधीन आयोजनाको पूर्वाधार निमार्णको लागि पनि आईपीओ निष्काशन गर्नु परेको जनाएको छ।
कम्पनीले ३६ मेगावाट क्षमताको बलेफी हाईड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८०र८१ सम्ममा सञ्चित नाफा ३ करोड १८ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७र७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ३० लाख ३४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।
आर्थिक वर्ष २०८०र८१ सम्ममा प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७५ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६४ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २८ पैसा नोक्सानीमा रहेको थियो।
आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।