
काठमाडौं । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् ।
दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकमा पेश हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।
अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए । केही दिन पहिले ओलीले वामपन्थी नै नभएको बताएका थिए । त्यसको नेता कार्यकर्ताबाट विरोध भइरहेको बेला आजको बैठकलाई सम्बोधन गर्दैै भने, ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन ।’
अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए । सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व आफ्नो पार्टीसँग भएको दाबी समेत गरे ।
भित्र बैठक चलिरहँदा बाहिर एमाले कार्यकर्ताबीच कुटाकुट भएको छ । दुई कार्यकर्ताबीच कुटाकुट भएको भिडियो भाइरल भएको छ । प्रहरीले छुट्याएका कारण अहिले वातावरण शान्त भएको बताइएको छ । सामान्य विवादकै बीच कुटाकुट सुरु भएको थियो ।