
काठमाडौं । संवैधानिक नियुक्ति विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ती विरुद्धको मुद्दाको सुनुवाइ गर्दैछ ।
सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरिएको छ ।
नेकपा एमाले नेतृत्वको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदमा संख्या नपुगेपछि अध्यादेश ल्याएर संवैधानिक अंगका पदाधिकारी नियुक्त गरेका थिए ।
उक्त नियुक्ती संविधान विपरित रहेको भन्दै अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ती विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । अब दुवै मुद्दा एकसाथ अघि बढ्नेछ ।
गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक÷एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउनेछन् ।
संवैधानिक अंगमा भएको नियुक्ति खारेज भएपछि निर्वाचन सर्न सक्ने बताइएको छ ।