
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ । बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गरेको राजनीति प्रतिवेदनमाथि आज समूहगत रुपमा छलफल हुनेछ ।
बैठकमा अध्यक्ष नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । त्यस्तै, एमसीसी र चुनावबारे पनि प्रतिवेदनमा समेटिएको नेताहरुले बताएका छन् ।
प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको छ । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।
पहिलो दिनको बैठकमा अध्यक्ष नेपालले एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले सामाजिक संजालमा लेखिएका एमसीसी विरोधी स्टाटस मेटाउन समेत भनेका थिए । त्यस्तै तीनवटै चुनावमा गठबन्धन मिलेर जाने सहमति भइसकेको बताएका थिए । उनले आफ्नो पार्टी एक्लै चुनावमा जाने कल्पना नगरेको समेत बताएका थिए ।
अध्यक्ष नेपालले पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म कायम राख्नुपर्नेमा बताएका थिए ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टीको भावी कार्ययोजनासँगै सदनबाट पारित अमेरिकी सहयोग अनुदान एमसीसी र चुनाव, सत्ता सहकार्य, गठबन्धनबारे समूहगत धारणा पेश गरिनेछ ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदबाट पास गरेपछि पार्टी विभाजनको चेतावनी दिएका थिए । तर, विहीबारको बैठकमा खनालले व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाइनु पर्ने धारणा राखे । खनालले बैठकमा एमसीसीको विपक्षमा पत राख्ने अनुमान गरिएपनि व्याख्यात्मक घोषणालाई सफलता भएको भन्दै सम्झौताको अंग बनाइनु पर्ने धारणा राखे ।
बैठकमा एमसीसी विरोधमा सार्वजनिक अभिव्यक्त दिए अनुशासनको विषय बनाउने अध्यक्ष नेपालले चेतावनीलाई खनालले पनि समर्थन गरेका छन् । अब एकीकृत समाजवादीका नेता कार्यकर्ताले एमसीसी विरुद्ध बोले कारवाही हुने नेताहरुले बताएका छन् ।