
काठमाडौं । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गरेको छ । आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न आजबाट फागुन १५ गतेसम्म खुला गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिनु पर्नेछ । आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् ।
यसैबीच बैशाख ३० गते घोषणा गरिएको चुनाव रोक्न दिएको रिट निवेदन सर्वाच्च अदालतले दर्ता गर्न आदेश दिएको छ । आउँदाे वैशाख ३० गते चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले सर्वोच्च अदालतमा गएकाे माघ २६ गते दिएको निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दर्ता परमादेश दिएको छ ।
यसअघि उक्त निवेदन रजिस्टारले दरपिठ गरिदिएका थिए । बुधबार सर्वोच्चले संविधानको धारा २ सय १६ को उपधारा ४ र स्थानीय तह निर्वाचत ऐनका विभिन्न दफाका प्रावधानको व्याख्यासम्बन्धी प्रश्न उठाएर निवेदन परेकाले इजलासबाट सुनुवाइ हुनुपर्ने भन्दै निवेदन दर्ता गर्न परमादेश दियो ।
आदेशमा पालिकाका पदाधिकारीको पदावधि कहिलेसम्म रहने र कुन मितिमा समाप्त हुने भन्ने विषय संविधान र कानुनको व्याख्याको आधारमा निरूपण गर्नुपर्ने आदेशमा उल्लेख छ । संविधान र कानुनसँग सम्बन्धित यस्ता विषयलाई न्यायिक प्रक्रियामा नै समावेश नगरि दरपिठ गरेर टुङ्ग्याउनु उचित नहुने उल्लेख छ ।
सरकारले २०७४ सालको वैशाखदेखि असोजसम्म तीन चरणमा चुनाव गरेको थियो । आउँदो वैशाख ३० गते चुनाव भएमा २०७४ सालको असोजमा चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्दै सकिने भएकाले पूर्ण कार्यकाल काम गर्न पाउँ भन्दै महोत्तरीको भंगाहाका मेयर साहले सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्चले उक्त निवेदन संविधान र कानुनसँग जोडिएको भन्दै विशेष महत्व दिएर दर्ताको लागि परमादेश दिएको छ । यसले बैशाख ३० गते नै चुनाव हुने वा नहुने भन्नेमा फेरि अन्योलता बढेको छ । सर्वोच्चले बैशाखमा चुनाव गर्न नपाइने फैसला गरे सरकारले अर्को मिति घोषणा गर्नुपर्नेछ ।