
काठमाडौं । हिमपातका कारण पाकिस्तानमा २४ जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार भारी हिमपातका कारण सडकमै सवारी साधन जाममा फसेका थिए । सडकमा हिउँ जमपछि सवारी साधनहरु गन्तव्यमा पुग्न सकेका थिएनन् ।
पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको छ । अधिकारीहरुका अनुसार २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने कम्तिमा पनि २४ जनाको ज्यान गएको बताइएको छ ।
सुरक्षाकर्मीले उद्दार गरिरहेकाले कति जनाको ज्यान गए भन्ने अझै एकिन हुन सकेको छैन । हिमपातले सडक बन्द हुँदा हिउँ खेल्न पुगेका पर्यटक अलपत्र परेका थिए । उनीहरु चिसोले कठ्याङ्ग्रिएका छन् । उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् ।
आन्तरिकमन्त्री शेख रसिदका अनुसार हिमपातले प्रभावित केही क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । सेनाले सडकमा जमेको हिउँ खाली गर्ने प्रयास गरिरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरी आफू निक्कै मर्माहत भएको उल्लेख गरेका छन् ।
यसैबीच हिमपातका कारण नेपालका हिमाली जिल्लाहरुको तापक्रम निकै घटेको छ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम सिमकोटसहित जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हिउँ जमेको छ । तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट बाक्लो हिउँ जमेको छ ।