
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा दुई नेताबीच तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामुहिक राजनीतिक विषयमा छलफल भएको थियो ।
भेटमा सुदर्शनले आफ्नो पार्टी र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकार इमान्दार नभएको बताएका थिए । उनले सहमतिअनुसार आफ्नोले शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको तर सरकार सहमति कार्यान्वयनमा सकारात्मक नभएको बताए । प्रवक्ता महरालाई सहमति कार्यान्वयन गर्न पहल गर्न नेता सुदर्शनले आग्रह समेत गरेका थिए ।
त्यसैगरी जवाफमा महराले तीन सहमति कार्यान्वयन गर्नुपर्नेमा आफू र माओवादी केन्द्र सकारात्मक रहेको बताएका थिए । महराले तीन बुँदे सहमति कार्यान्वयन गर्न आफूहले पहल गर्ने प्रतिवद्धता समेत जाहेर गरेको बताइएको छ ।
भेटमा लामाे समय जेल जीवन बिताएर केही समय पहिले मात्रै छुटेका माओवादी नेता सुजन यादव पनि सहभागी थिए ।