
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ । त्यसको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।
आज केन्द्रीय समितिको अन्तिम बैठक बस्दैछ । काँग्रेसमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहमा विभाजित भएर नेताहरु स्थानीय तहदेखि चुनाव लड्दै महाधिवेशनसम्म पुगेका छन् । देउवा समूहमा उनलाई चुनौती दिने कोही नभएपनि पौडेल समूहले आजसम्म पनि सभापतिको उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
बुधबार दिनभर बसेको बैठक विना निष्कर्ष सकिएको थियो । आज फेरि बस्ने भन्दै नेताहरु उठेका थिए । सभापतिमा पौडेलसँगै प्रकाशमान सिंह, शेखर कोइरालाले दाबी नछोडेपछि कुरा नमिलेको नेता रामशरण महतले बताएका छन् । सबैले नछोड्ने भनेपछि आज कुरा नमिलेको महतले संचारकर्मीसँग बताएका थिए । बैठकमा कुरा नमिलेपछि पौडेल आफूले सन्यास लिने चेतावनी दिएका थिए ।
लामो समयदेखि देउवा समूहमा रहेका नेता विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवारी दिने तयारी गरेका छन् । सभापतिको आकंक्षी भएपछि निधि देउवाबाट अलग भएका छन् ।
सभापति देउवाले पदाधिकारीको टुंगो लगाउन सकेका छैनन् । प्यान बनाउन देउवा समूहका नेताहरु जुटेका छन् ।
यसैबीच काँग्रेस निर्वाचन समितिले ६ बुँदे आचारसंहिता जारी गरेको छ । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको छ ।
जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ । तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न रोक लगाइएको छ ।
यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थलव अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ ।
काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । जसअनुसार मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ