
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीब्र गतिमा फैलिरहेको छ । अफ्रिकन देशहरुबाट फैलिएको यो नयाँ भेरियन्ट तीब्र गतिमा फैलिरहेको छ ।
नयाँ भेरियन्ट दक्षिण कोरियासम्म पुगेको पुष्टि भएको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।
कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको थियो ।
डब्लुएचओले नयाँ भेरियन्ट खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत देखिएको बताएको छ । खोपले नयाँ भेरियन्टसँग प्रतिरक्षा गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।
नयाँ भेरियन्ट देखिएसँगै दक्षिण कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
नेपालले पनि नयाँ भेरियन्ट देखिएका अफ्रिकन देशहरुमा उडान बन्द गरेको छ । तर, कोरियामा भने नेपाली कामदारहरु जाने र आउने गइरहेका छन् । अब दक्षिण कोरियाबाट नेपालमा नयाँ भेरियन्ट आउन सक्ने जोखिम बढेको छ ।