
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको पक्षमा ५० मत खसेको छ । राईले आज विश्वासम्बन्धी राखेको प्रस्तावको विपक्षमा जम्मा २९ मत मात्रै खसेको हो ।
नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका राई कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधानअनुसार राईले आज प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका थिए ।
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीका अनुसार कुल ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको थियो ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।
प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् । पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका थिए ।