
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दसहितका विरोधका कार्यक्रम घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले विहीबार एक विज्ञप्ति जारी गरेर चरणवद्ध विरोधका कार्यक्रमसहित कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् ।
विप्लवले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक हुन ननसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गरेका छन् । उनले जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग अपिलसमेत गरेका छन् ।
विप्लवले विज्ञप्तिमा ४७ रुपैयाँमा आयात गरिने पेट्रोल १३६ रुपैयाँ मा बिक्रि गरिँने लागेको दाबी समेत गरेका छन् । उनले सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल ७० रुपैयाँमा बिक्रि गर्न सकिने दाबी समेत गरेका छन् ।
“जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु. १३६ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?” विज्ञप्तिमा भनिएको छ ।
विप्लवले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुने बताएका छन् । मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न बिवश विप्लवले बताएका छन् । मूल्यवृद्धिको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा पर्ने बताउँदै विप्लवले यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्ने भन्दै मूल्यवृद्धि खारेज गर्न माग समेत गरेका छन् ।
महासचिव विप्लवले कात्तिक २५ गते (आज) दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार–प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन स् दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम गर्ने घोषणा गरेका छन् ।
त्यसैगरी कात्तिक २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
यस्ता छन् घोषित कार्यक्रमः २०७८ कार्तिक २५ गते दिउसो ३ बजे देशब्यापि विरोध प्रदर्शन । २६ गते प्रचारप्रसार र साझ देशब्यापि मसाल जुलुस । २७ गते देशब्यापि प्रदर्शन, दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा । २८ गते विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा चक्काजाम । २९ गते दिउसो सिठ्ठि जुलुस, साझ मसाल जुलुस र ३० गते नेपाल बन्द।