
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजिनामा दिन पाँच दिने अल्टिमेटम दिएको छ । बारले बेन्च बहिस्कारलाई जारी राखेको छ ।
बारेले प्रधानन्यायाधीश राणाले विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा, स्वतन्त्रता कायम गर्न नसकेको भन्दै राजिनामा माग गर्दै आएको छ । इजलास बहिस्कार गरेर आन्दोलनको चेतावनी दिँदै आएको बार एशोसिकएसनको शुक्रबार बसेको कार्य समितिको बैठकले राणालाई राजिनामा दिन अल्टिमेटम दिएको हो ।
बारले कात्तिक १४, १५ ,१६ र १७ गते बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्चमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । विरोधका कार्यक्रमअनुसार कत्तिक १६ गते सर्वोच्च प्रांगणमा धर्ना तथा विरोध सभा गरिने बारले जनाएको छ ।
बैठकले न्यायपालिकाको वर्तमान अवस्था र बारको निर्णयको बारेमा ९० वटै एकाईहरूमा परिपत्र गर्ने निर्णय पनि गरेको छ। बारका ९० वटा एकाईका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल, अन्तक्र्रिया र सुझाव संकलन समेत गरिने भएको छ। न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मक कार्यक्रम गर्नु परेको बारले जनाएको छ ।
उता प्रधानन्यायाधीश राणाले जबरजस्त न्यायलयलाई विवादमा ल्याउन खोजिएको भन्दै राजिनामा नदिने अडानमै छन् ।