
काठमाडौँ । नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका अब्दुल्लाह अल्मुताइरी फेरि मुख्य प्रशिक्ष बन्ने भएका छन् । आफू नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले सामाजिक संजालमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तता दिन तयार भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका अधिकारीहरुसँग छलफलपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार बताएका छन् ।
अल्मुताइरीले लेखेका छन्, “कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका अधिकारीहरुसँगको बैठकपछि अखिल नेपाल फुटबल संघसँग नेपालको जिम्मेवारीलाई तीन वर्ष निरन्तरता दिन नयाँ सम्झौता गर्ने मैले निर्णय गरेको छु र कतार फुटबल एसोसिएसनलाई समर्थन तथा नेपाल फर्किनका लागि गरेको सबै विषयका लागि धन्यावाद छ ।”
नयाँ मिसनको सफलताको कामना गर्दै आगामी २ वर्षका लागि लक्ष्य र योजनाहरु आगामी केही दिनमै प्रकाशित गर्ने बताउँदै नेपालको भविष्य राम्रो हुने छ तर त्यसका लागि समय चाहिने बताए ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । तर प्रतियोगिता सकिएपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसीको प्रो लाइसेन्स भएको मुख्य प्रशिक्षक पहिलो पटक पाएको थियो । कतारी फुटबल संघको सहयोगमा अल्मुताइरी नेपालमा आएका थिए ।
हालै सम्पन्न साफको फाइलन खेलमा अल्मुताइरीलाई हुँदै नभएको नियम लगाउँदै टच लाइनमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । साफले जिताउन हुँदै नभएको नियम लगाएको भन्दै अल्मुताइरीले आफू अदालत जाने चेतावनी समेत दिएका थिए । भारतीय टोलीका मुख्य प्रशिक्षकले दुई पटक नियम मिचेपछि टच लाइनमा आउन प्रतिबन्ध लगाइएको थियो । साफले भारतीय मुख्य प्रशिक्षक खेलमा नभएकै कारण नेपाली मुख्य प्रशिक्षकलाई पनि टचलाइनमा आउन दिइएन ।